काठमाडौँ । नेपालकी ट्रान्स महिला निलम पौडेल सगरमाथा सफलतापूर्वक आरोहण गरेपछि काठमाडौं फर्किएकी छिन्। गत शनिबार विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेसँगै उनी सगरमाथा चढ्ने पहिलो ट्रान्स महिला बनेकी हुन्।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई ब्लु डाइमन्ड सोसाइटीकी अध्यक्ष ब्लु डाइमन्ड सोसाइटी की अध्यक्ष पिंकी गुरुङ लगायतले स्वागत गरेका थिए।
विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले आफ्नो उपलब्धि समुदायका लागि प्रेरणादायी भएको बताइन्। उनले सगरमाथा आरोहणलाई वर्षौँदेखि भोग्दै आएको सामाजिक विभेद, अस्वीकृति र पहिचानको संघर्षमाथिको विजयको प्रतीकका रूपमा लिएको उल्लेख गरिन्।
पौडेलले यो सफलताले आफ्ना समुदायका अन्य सदस्यहरूलाई पनि असम्भव देखिने कामहरू गर्न सकिन्छ भन्ने आत्मविश्वास दिने विश्वास व्यक्त गरिन्।