काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू) सम्बद्ध विभिन्न मुलुकका राजदूतहरूले सोमबार शिष्टाचार भेटवार्ता गरेका हुन्। सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपालमा शिक्षा, विशेषगरी उच्च शिक्षामा सहकार्य र साझेदारी विस्तार गर्ने विषयमा छलफल भएको हो।
भेटमा नेपालस्थित इयू कार्यालयका डेपुटी हेड अफ मिसन थोमस मिलर तथा लिथुवानिया, साइप्रस, चेक रिपब्लिक, लक्जेम्बर्ग, रोमानिया, डेनमार्क र नेदरल्याण्डका गैरआवासीय राजदूत सहभागी थिए। उनीहरूले नेपालको शिक्षा क्षेत्रमा भइरहेको सहयोगलाई निरन्तरता दिँदै प्रविधि, उच्च शिक्षा र शैक्षिक साझेदारीमा थप सहकार्य गर्न इच्छा व्यक्त गरेका थिए।
मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा इयूलगायत देशहरूले पुर्याएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा साझेदारी अझ विस्तार गर्ने सरकारको तयारी रहेको बताए। उनले समावेशी शिक्षा, पूर्वाधार विकास, शिक्षकको पेसागत क्षमता अभिवृद्धि तथा शिक्षामा डिजिटाइजेसनलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
उच्च शिक्षामा विद्यार्थी मात्र नभई विश्वविद्यालयका ‘फ्याकल्टी मेम्बर’ आदान–प्रदान कार्यक्रम सञ्चालन गर्न तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य बढाउन मन्त्रालय सकारात्मक रहेको मन्त्री पोखरेलको भनाइ थियो। साथै, उच्च शिक्षाको पुनर्संरचनामा विभिन्न देशको अनुभव र सुझाव उपयोगी हुने उनले बताए।
राजदूतहरूले पनि नेपालसँग शैक्षिक सम्बन्ध अझ बलियो बनाउन इच्छुक रहेको उल्लेख गरेका थिए। पछिल्ला वर्षहरूमा साइप्रस, रोमानिया र नेदरल्याण्डजस्ता देशमा अध्ययनका लागि नेपाली विद्यार्थीको आकर्षण बढ्दै गएको सन्दर्भमा शिक्षा क्षेत्रको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।