काठमाडौँ । काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा मंगलबार बिहान दुर्घटनामा परेको छ। कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस सडकमा पल्टिँदा ३८ जना घाइते भएका हुन्।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल तौलिहवामा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। तीमध्ये ३५ जनालाई थप उपचारका लागि भैरहवाका विभिन्न अस्पतालमा रिफर गरिएको छ।
प्रहरीका अनुसार बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विकको अवस्था गम्भीर रहेको छ। चालक डिल्लीप्रसाद दाहाल र सहचालक राजन बुढासहित अन्य यात्रुहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ।
दुर्घटनामा सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, बाँके, झापा, काठमाडौं, ललितपुर र ओखलढुंगालगायत जिल्लाका यात्रु घाइते भएका प्रहरीले जनाएको छ।