Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सभामुख डीपी अर्याल र कोरियाली राजदूतबीच भेट, लगानी, ऊर्जा र श्रम सहकार्य विस्तारमा जोड

सभामुख डीपी अर्याल र कोरियाली राजदूतबीच भेट, लगानी, ऊर्जा र श्रम सहकार्य विस्तारमा जोड

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि कोरियाली राजदूत तायोङ पार्क बीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय सहकार्यका विषयमा विस्तृत छलफल गरिएको हो।

सभामुख अर्यालले कोरियाले नेपालका विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्य निरन्तर हुनुपर्नेमा जोड दिनुभयो। उहाँले नयाँ सरकार गठनसँगै लगानीमैत्री वातावरण अझ सहज बन्दै गएको उल्लेख गर्नुभयो।

उहाँले सूचना प्रविधि र प्राविधिक क्षेत्रमा कोरियाली लगानीलाई स्वागत गर्दै नेपाल–कोरिया संसदीय मैत्री समूह गठन अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। साथै कोरियाली पर्यटकलाई नेपाल भ्रमणमा प्रोत्साहन गर्न तथा काठमाडौँ–सिओल सीधा उडानका लागि सहजीकरण गर्न आग्रह गर्नुभयो।

राजदूत पार्कले नेपाललाई कोरियाले प्रमुख विकास साझेदारका रूपमा निरन्तर प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँका अनुसार रोजगार अनुमति प्रणाली (EPS) मार्फत हालसम्म करिब १ लाख २० हजार नेपालीले कोरियामा रोजगारीको अवसर पाइसकेका छन् भने हाल करिब ५० हजार नेपाली कार्यरत छन्।

उहाँले नेपाली श्रमिकको योगदानको प्रशंसा गर्दै उनीहरूको सुरक्षा, स्वास्थ्य र सम्मानमा कोरिया सरकार संवेदनशील रहेको उल्लेख गर्नुभयो। साथै ऊर्जा क्षेत्रमा कोरियाली लगानी विस्तार भइरहेको जानकारी दिँदै रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजना करिब ८० प्रतिशत पूरा भइसकेको र आगामी वर्षदेखि उत्पादन सुरु हुने अपेक्षा रहेको बताउनुभयो।

भेटमा दुवै पक्षले हरित ऊर्जा, कार्बन ट्रेडिङ, श्रम सहकार्य र संसदीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा सहमति जनाएका छन्।