Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हङकङमा रहेका देउवा दम्पतीलाई राहत, पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

हङकङमा रहेका देउवा दम्पतीलाई राहत, पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा लाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। आदेशसँगै हाल हङकङमा रहेका देउवा दम्पतीलाई पक्राउ गर्ने प्रक्रिया तत्कालका लागि रोकिएको छ।

न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश दिएको हो। अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विशेष अदालतको क्षेत्राधिकारभित्र पर्ने भएकाले जिल्ला अदालतबाट जारी गरिएको पक्राउ अनुमति स्वतः निष्क्रिय हुने देखिएको उल्लेख गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि विदेशमा रहेका देउवाले वारेसमार्फत सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विशेष अदालतमा मात्र सुनुवाइ हुनुपर्ने, अनुसन्धानमा सहयोग गरिरहेको तथा उमेर र स्वास्थ्य अवस्थालाई पनि आधार बनाइएको थियो।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशबारे निर्णयका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो।

वैशाख १८ गते जारी अध्यादेशअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएका मुद्दा विशेष अदालतमा दर्ता हुने व्यवस्था छ। यही कानुनी व्यवस्थालाई आधार मान्दै सर्वोच्चले जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश दिएको हो।