काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) सुधारका लागि कार्ययोजना अघि बढाएसँगै दूध किसानलाई बक्यौता रकम भुक्तानी प्रक्रिया तीव्र भएको छ।
डीडीसीले हाल दैनिक करिब १ करोड रुपैयाँ किसानलाई भुक्तानी गरिरहेको जनाएको छ। पछिल्लो चार महिनामा संकलित करिब ५८ करोड रुपैयाँ बक्यौतामध्ये १२ करोड रुपैयाँ भुक्तानी भइसकेको छ भने आउँदो १३ गतेभित्र एक महिनाको थप भुक्तानी गर्ने तयारी गरिएको छ।
संस्थानका अनुसार बाँकी करिब ४६ करोड रुपैयाँ पनि आगामी दुई महिनाभित्र चरणबद्ध रूपमा किसानको खातामा पठाइनेछ। दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रहेकाले किसानले क्रमशः सबै रकम प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ।
मन्त्री चौधरीले दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई केन्द्रमा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको बताउनुभएको छ।