Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाल–कोरिया कृषि सहकार्य थप विस्तार गर्ने सहमति

नेपाल–कोरिया कृषि सहकार्य थप विस्तार गर्ने सहमति

काठमाडौँ । नेपाल र गणतन्त्र कोरियाबीच कृषि, पशुपन्छी, वन तथा वातावरण क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा उच्चस्तरीय छलफल भएको छ। कृषि, वन तथा वातावरण मन्त्री माननीय गीता चौधरीसँग नेपालका लागि कोरियाली राजदूत महामहिम पार्क ते–योङ्ग तथा KOPIA प्रतिनिधिमण्डलले मन्त्रालयमा शिष्टाचार भेट गर्दै द्विपक्षीय सहकार्यका विभिन्न आयाममा कुराकानी गरेका हुन्।

भेटमा जलवायु–स्मार्ट कृषि, दुग्ध विकास, कृषि अनुसन्धान, आधुनिक प्रविधि विस्तार तथा युवा उद्यमशीलताका विषय प्राथमिकतामा रहेका थिए। राजदूत पार्कले KOICA मार्फत नेपालमा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै तराईमा सञ्चालन हुने Climate Resilient Rice Production Project अन्तिम सम्झौता प्रक्रियामा रहेको जानकारी दिनुभयो। तरकारी मूल्य शृङ्खला विकाससम्बन्धी सहकार्य पनि अगाडि बढाइएको उहाँले बताउनुभयो।

कोरियाको सहयोगमा नेपालमा वितरण गरिएका १०८ उन्नत हिफरबाट सकारात्मक परिणाम आएको, दूध उत्पादन स्थानीय जातको तुलनामा लगभग दोब्बर भएको तथा महिला कृषकहरू व्यावसायिक उत्पादनतर्फ उन्मुख भएको जानकारी पनि दिइयो। सिन्धुलीमा पशुपन्छी क्लस्टर हब विकास गर्ने योजना समेत अघि सारिएको छ।

त्यस्तै, KOPIA Center ले NARC सँगको सहकार्यमा तरकारी तथा आलु अनुसन्धान अघि बढाइरहेको जनाएको छ। वातावरण तथा ऊर्जा क्षेत्रमा पनि सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।

मन्त्री चौधरीले कोरियाली सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल सरकारले दुग्ध क्षेत्र विकास, डिजिटल कृषि, नवप्रवर्तन, जैविक मल प्रविधि तथा युवा स्टार्टअप कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले आधुनिक दुग्ध प्रविधि, स्मार्ट सिँचाइ प्रणाली, उच्च उत्पादनशील धान, स्याउ तथा अखरोटका जर्मप्लाज्म आदानप्रदानमा सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

दुवै पक्षले नेपाल–कोरिया सहकार्यलाई अझ परिणाममुखी र दीर्घकालीन बनाउने विषयमा साझा प्रतिबद्धता व्यक्त गरेका छन्।