काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानियाबीच व्यापार, लगानी, पर्यटन र श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित नेपाल–रोमानिया व्यापार मञ्चको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हालको व्यापार परिमाण सानो भए पनि भविष्यमा सहकार्यका धेरै क्षेत्र खुला रहेको उल्लेख गरे।
उनका अनुसार नेपालले गार्मेन्ट, हस्तकला, जडीबुटी, कृषि उत्पादन र सूचना प्रविधि सेवामा क्षमता विस्तार गर्न सक्छ भने पूर्वाधार, जलविद्युत, पर्यटन र उत्पादन क्षेत्रमा रोमानियाली लगानी स्वागतयोग्य हुने बताए।
सांसद पराजुलीले रोमानियालाई युरोपेली संघ प्रवेशद्वारका रूपमा उल्लेख गर्दै बजार पहुँच र प्रविधि हस्तान्तरणका अवसर महत्वपूर्ण रहेको धारणा राखे। साथै नेपाली श्रमिकको सीप, मेहनत र अनुकूलन क्षमताले सुरक्षित श्रम आप्रवासनमार्फत दुवै देशलाई फाइदा पुग्ने उनको भनाइ थियो।
उनले पर्यटन र सांस्कृतिक आदानप्रदानले पनि दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन सक्ने उल्लेख गर्दै निरन्तर सहकार्यले द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।