काठमाडौँ । पूर्वी पहाडको मुख्य आवागमन मार्ग मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली–गोलाखर्क भञ्ज्याङ खण्डमा लगातार सडक भासिँदा गम्भीर संकट देखिएको छ। करिब ३ किलोमिटर क्षेत्रमा फैलिएको यो समस्या बढ्दै जाँदा यातायात मात्र होइन, स्थानीयको दैनिक जीवन र सुरक्षा पनि जोखिममा परेको छ।
स्थानीयका अनुसार यो समस्या २०७२ सालको भूकम्पपछि सुरु भएको हो र पछिल्ला वर्षहरूमा सडक ठाउँ–ठाउँमा गहिरो गरी भासिँदै गएको छ। वर्षायाममा अवस्था झनै भयावह हुने गरेको स्थानीयवासीले बताएका छन्।
सडक भासिनुको कारणबारे स्थानीय स्तरमा पुवाखोला जलविद्युत आयोजनाको सुरुङमार्फत हुने पानी चुहावटलाई मुख्य कारणका रूपमा शंका गरिएको छ। तर यसबारे कुनै आधिकारिक वैज्ञानिक पुष्टि भने भएको छैन।
हालै जिल्ला प्रशासन कार्यालय इलामको नेतृत्वमा गरिएको संयुक्त अनुगमनमा सुरुङभित्र केही स्थानमा सामान्य पानी चुहावट (सिपेज) भेटिए पनि त्यसैलाई सडक भासिनुको एकमात्र कारण मान्न नसकिने निष्कर्ष निकालिएको छ।
सडक डिभिजन कार्यालयका अनुसार सुरुङ मर्मत आवश्यक देखिए पनि सडक भासिनुको वास्तविक कारण पत्ता लगाउन विस्तृत प्राविधिक अध्ययन आवश्यक छ। जलविद्युत आयोजनाले पनि भू–गर्भीय कारण जटिल भएकाले तत्काल निष्कर्षमा पुग्न नसकिने जनाएको छ।
विशेषज्ञहरूका अनुसार कमजोर भू–संरचना, भूकम्पको असर, भूमिगत पानीको बहाव परिवर्तन र मानव निर्मित संरचनाको संयुक्त प्रभावले यस्तो समस्या उत्पन्न हुन सक्छ।
मेची राजमार्गको यो खण्ड कुनै पनि बेला पूर्ण रूपमा अवरुद्ध हुन सक्ने जोखिम बढ्दै जाँदा स्थानीयवासीले तत्काल दीर्घकालीन समाधानको माग गरेका छन्।