काठमाडौँ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्त गर्ने सम्भावना रहेको छ।
अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले ४७ आवेदकमध्येबाट डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल भट्टलाई सर्टलिस्ट गरेर अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण गराइसकेको छ।
तीमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएको स्रोतले जनाएको छ। वैशाख ५ गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा मन्त्रिपरिषद्ले एक जनालाई नियुक्त गर्नेछ।
नयाँ अध्यक्ष नियुक्त भएपछि लामो समयदेखि रोकिएका आईपीओ निष्कासनलगायत पूँजी बजारसम्बन्धी कामले गति लिने अपेक्षा गरिएको छ।