काठमाडौँ । कञ्चनपुर लामो समयदेखि राष्ट्रवादी विद्यार्थी राजनीतिमा सक्रिय रहेका र राप्रपा निकट विद्यार्थी संगठनका पूर्व केन्द्रीय सह–संयोजक उमेश सिंह बिष्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनलाई रास्वपाको केन्द्रीय मानव विकास प्रवर्द्धन विभाग सदस्यको जिम्मेवारी प्रदान गरिएको छ।
वि.सं. २०६२/०६३ पछिको चुनौतीपूर्ण राजनीतिक परिवेशमा राप्रपा नेपाल निकट विद्यार्थी संगठनमार्फत राजनीतिक यात्रा सुरु गरेका बिष्टले सडक आन्दोलनदेखि विश्वविद्यालय राजनीति, संगठन विस्तारदेखि राष्ट्रवादी अभियानसम्म सक्रिय भूमिका निर्वाह गरेका थिए।
उनले संगठनको इकाइ अध्यक्ष, प्रदेश इन्चार्ज, केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय सह–संयोजक लगायत विभिन्न जिम्मेवारी सम्हालेका थिए। पूर्वमन्त्री उद्धव थापा तथा राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाको स्वकीय सचिवको रूपमा काम गरेको अनुभवसमेत बिष्टसँग रहेको छ। डेढ दशक लामो राजनीतिक यात्रापछि रास्वपामा जोडिएका उनले मानव विकास, जनसेवा र सकारात्मक परिवर्तनका लागि इमान्दार र प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।