Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अष्ट्रेलियामा नेपाली समुदायद्वारा कालिकोटको विद्यालय पुनर्निर्माणका लागि च्यारिटी डिनर आयोजना

अष्ट्रेलियामा नेपाली समुदायद्वारा कालिकोटको विद्यालय पुनर्निर्माणका लागि च्यारिटी डिनर आयोजना

काठमाडौँ । कालिकोटस्थित एक प्राथमिक विद्यालय पुनर्निर्माण गर्न अष्ट्रेलियामा रहेका नेपालीहरू एकजुट भएका छन्।

हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले कर्णाली प्रदेशको कालिकोट जिल्लास्थित खपर्मस्ता आधारभूत विद्यालय भवन पुनर्निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले सिड्नीको झरना फंक्शन सेन्टरमा आगामी १ अगस्ट २०२६ मा च्यारिटी डिनर आयोजना गर्न लागेको हो।

‘गिभिङ इनिसियटिभ’ नाम दिइएको उक्त कार्यक्रमबाट संकलित रकम विद्यालय पुनर्निर्माणमा प्रयोग गरिने नेटवर्ककी अध्यक्ष सन्तोषी गौतमले बताइन्। उनले अष्ट्रेलियास्थित सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिन्।

हेल्प नेपाल नेटवर्कका ग्लोबल कोअर्डिनेटर डिला खरेलले संसारभरका नेपालीले मातृभूमिका लागि निरन्तर सहयोग गरिरहेको उल्लेख गर्दै विगतका महाभूकम्प र कोभिड महामारीका बेला गरिएको सहयोगको प्रशंसा गरे।

सन् १९९९ मा स्थापना भएको नेटवर्कले नेपालभर सयभन्दा बढी विद्यालय निर्माण, ई–लाइब्रेरी स्थापना तथा भूकम्प प्रभावित विद्यालय पुनर्निर्माणमा योगदान दिँदै आएको छ। साथै स्वास्थ्य सेवा, बालगृह सञ्चालन र विपद् राहत कार्यमा पनि सक्रिय भूमिका खेल्दै आएको छ।