Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुकुम्बासी समस्या समाधानमा मानवीय दृष्टिकोण आवश्यक: सांसद इन्दिरा राना मगर

सुकुम्बासी समस्या समाधानमा मानवीय दृष्टिकोण आवश्यक: सांसद इन्दिरा राना मगर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले सुकुम्बासी समस्या, आदिवासी समुदायको प्रतिनिधित्व, समावेशी राजनीति र स्थानीय तहको कार्यशैलीबारे पार्टीभित्र गम्भीर छलफल भएको बताएकी छन्।

सभापति रवि लामिछानेसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्दा मानवीय दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिइन्। वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकलाई उचित विकल्पबिना विस्थापित गर्न नहुने उनको भनाइ छ।

उनका अनुसार स्थानीय तहले कतिपय ठाउँमा लालपुर्जा पाइसकेका नागरिकलाई समेत हटाउन सूचना जारी गरिरहेको अवस्था चिन्ताजनक छ। उनले जोखिमयुक्त क्षेत्रका बस्तीलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न सकिने भए पनि विकल्पबिना उठाउन नहुने बताइन्।

इन्दिराले आदिवासी समुदायको प्रतिनिधित्व कमजोर रहेको भन्दै प्रदेश अधिवेशनमा उनीहरूको समावेशी सहभागिता सुनिश्चित गर्नुपर्ने सुझाव पनि दिएकी छन्। उनका अनुसार पार्टीभित्र अब प्रदेशस्तरमा समस्या पहिचान गर्ने र सांसदहरूले आफ्ना क्षेत्रका मुद्दा प्रत्यक्ष रूपमा नेतृत्वसमक्ष राख्ने अभ्यास सुरु भएको छ।

उनले समावेशी प्रतिनिधित्व केवल नारामा सीमित नभई व्यवहारमै देखिनुपर्नेमा जोड दिँदै भूमिहीन तथा सीमान्तकृत समुदायका समस्या राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने धारणा राखिन्।