काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिएका छन् । बुधबार काठमाडौंमा आयोजित छलफलमा सहभागी पूर्व अर्थमन्त्रीहरूले आर्थिक सुधार, खर्च नियन्त्रण, निजी क्षेत्रको विश्वास र उत्पादनमुखी बजेटमा जोड दिएका हुन् ।
छलफलमा अर्थमन्त्री वाग्लेले सुशासनलाई आधार बनाएर आम नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित बजेट तयारी भइरहेको बताएका थिए । उनले अघिल्ला सरकारका सकारात्मक अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाए ।
पूर्व अर्थमन्त्रीहरूले बजेट यथार्थपरक बनाउन, अनावश्यक आयोजना कटौती गर्न, पूँजीगत खर्च प्रभावकारी बनाउन र राजस्व लक्ष्य व्यवहारिक राख्न सुझाव दिएका छन् । विद्युत् क्षेत्रमा कर नलगाउने, निजी क्षेत्रलाई ऊर्जा व्यापारमा खुला गर्ने, कृषि र पर्यटनमा लगानी बढाउने तथा उद्योग प्रवर्द्धन गर्नुपर्नेमा समेत जोड दिइएको थियो ।
डा. युवराज खतिवडाले अत्यधिक महत्वाकांक्षी राजस्व लक्ष्य नराख्न सुझाव दिँदै वित्तीय क्षेत्र सुधार र निजी क्षेत्रको मनोबल बढाउन आग्रह गरे । विष्णु पौडेलले स्रोतको यथार्थ मूल्यांकन गरेर बजेट बनाउनुपर्ने बताए भने जनार्दन शर्माले खर्च कटौती र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे ।
छलफलमा सामाजिक सुरक्षा, सरकारी उद्योग, पूर्वाधार, संघीयता कार्यान्वयन, पर्यटन, कृषि, खानी उत्खनन, वैकल्पिक वित्त व्यवस्था र निजी लगानी सुरक्षालगायत विषयमा पनि व्यापक सुझाव प्रस्तुत गरिएको थियो ।