काठमाडौँ । साफ महिला च्याम्पियनसिप खेल्न भारत जान लागेको नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राज्यले खेलकुद क्षेत्रलाई अपेक्षाअनुसार सहयोग गर्न नसकेको स्वीकार गरेका छन् ।
बिहीबार आयोजित कार्यक्रममा उनले खेलाडीका लागि आवश्यक सम्मान, सुविधा र अवसर उपलब्ध गराउन सरकार अझै कमजोर रहेको बताए । सीमित स्रोतसाधनका बाबजुद खेलकुद क्षेत्रको विकास र खेलाडीको मनोबल बढाउन प्रयास जारी रहने उनको भनाइ थियो ।
मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूले देशको गौरव बढाइरहेको उल्लेख गर्दै टोलीलाई शुभकामना दिए । उनले खेलमा जित–हार स्वाभाविक भए पनि नेपाली टोलीप्रति आत्मविश्वास रहेको बताए ।
साथै, आगामी दिनमा खेलकुद क्षेत्रमा लगानी र समर्थन थप विस्तार गर्ने दिशामा सरकार अघि बढिरहेको पनि उनले जानकारी दिए ।