काठमाडौँ । कैलालीको सत्ती भन्सार कार्यालयले चोरी पैठारी प्रकरणमा बरामद भएका विभिन्न सामान खुला लिलाममार्फत बिक्री गर्ने भएको छ । भन्सार विभागले जारी गरेको सूचनाअनुसार जेठ २१ गते दिउँसो १ बजेदेखि साढे २ बजेसम्म कार्यालय परिसरमै लिलाम प्रक्रिया सञ्चालन हुनेछ ।
भन्सार ऐन २०८२ र नियमावली २०८३ अनुसार सामानहरू ‘जस्तो अवस्थामा छन्, सोही अवस्थामा’ प्रतिस्पर्धात्मक बोलकबोलमार्फत बिक्री गरिने जनाइएको छ । लिलाममा १० वटा मुद्दासँग सम्बन्धित बरामद सामग्री समावेश छन्, जसको न्यूनतम मूल्याङ्कन ३ लाख ७० हजार ४८० रुपैयाँ तोकिएको छ ।
लिलामीमा कस्मेटिक सामग्री, मोबाइलका पार्टपुर्जा, पानी तान्ने मोटर, बोरिङ पाइप, पुराना ब्याट्री, कपडा, चप्पल, भाँडाकुँडा तथा साइकल र अटोका ट्युबहरू राखिएका छन् ।
भन्सार कार्यालयले बोलकबोलमा सहभागी हुने व्यक्तिले कबोल रकमको १० प्रतिशत तत्काल नगद दाखिला गर्नुपर्ने व्यवस्था गरेको छ । भ्याट लाग्ने सामानका लागि भ्याटमा दर्ता भएका व्यवसायिक फर्मले मात्रै सहभागिता जनाउन पाउनेछन् ।
सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिलाई लिलाम स्वीकृत गरिनेछ । स्वीकृत व्यक्तिले ७ दिनभित्र कर तथा भ्याटसहित सम्पूर्ण रकम बुझाएर सामान उठाउनुपर्नेछ ।
गुणस्तर परीक्षण आवश्यक पर्ने सामग्री भने सम्बन्धित निकायबाट परीक्षण गराएर मात्रै प्रयोग वा बिक्री गर्न पाइने भन्सार कार्यालयले जनाएको छ ।