काठमाडौँ । प्रतिनिधिसभामा सांसद हर्क साम्पाङले प्रधानमन्त्री स्वयं उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग गरेका छन् । बिहीबारको बैठकमा बोल्दै उनले संसद नियमावलीअनुसार प्रधानमन्त्रीले सदनमा आएर उत्तर दिनुपर्ने व्यवस्था रहेको स्मरण गराए ।
साम्पाङले आफूले यसअघि गृहमन्त्रालय, रक्षामन्त्रालय तथा अन्य मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा प्रश्न उठाएको उल्लेख गर्दै ती विषयमा प्रधानमन्त्रीबाटै स्पष्ट जवाफ चाहिएको बताए ।
उनका अनुसार सुकुम्बासी समस्या, शान्ति सुरक्षा, सीमा विवाद र लिपुलेकजस्ता राष्ट्रिय महत्वका विषयमा संसदमा प्रश्न उठाइएको भए पनि सरकारले पर्याप्त प्रतिक्रिया दिएको छैन ।
गृहमन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीसँगै रहेको उल्लेख गर्दै उनले संसदप्रति सरकार उत्तरदायी बन्नुपर्ने धारणा राखे । सांसदहरूले उठाएका विषयलाई बेवास्ता गर्न नमिल्ने भन्दै उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर जवाफ दिन आग्रह गरे ।