Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बुधबार मात्रै समस्याग्रस्त सहकारीका थप ३०४ साना बचतकर्ताले पाए रकम फिर्ता

बुधबार मात्रै समस्याग्रस्त सहकारीका थप ३०४ साना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौँ । समस्यामा परेका सहकारी संस्थाका साना बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रिया सरकारले विस्तार गरेको छ । बुधबार मात्रै थप ३०४ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका २१६ जना बचतकर्तालाई रकम उपलब्ध गराइएको हो ।

यसअघि कान्तिपुर सहकारीका २१५, शिव शिखरका १५६ र पशुपति सहकारीका ७ जना गरी ३७८ जना बचतकर्ताले रकम फिर्ता पाइसकेका थिए ।

समितिले पहिलो चरणमा कम रकम बचत गरेका साना बचतकर्तालाई प्राथमिकता दिएको जनाएको छ । आगामी दिनमा बचत रकमको आधारमा वर्गीकरण गर्दै चरणबद्ध रूपमा अन्य बचतकर्तालाई पनि रकम फिर्ता गरिनेछ ।

हाल समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् । समितिका अनुसार पाँच लाख रुपैयाँभन्दा कम बचत हुनेलाई साना र सोभन्दा बढी बचत हुनेलाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरिएको छ ।