Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सरकारसँग ५ बुँदे सहमति भएपछि रूबी खानले तोडिन् २३ दिने अनशन

सरकारसँग ५ बुँदे सहमति भएपछि रूबी खानले तोडिन् २३ दिने अनशन

काठमाडौँ । निर्मला कुर्मी प्रकरणको निष्पक्ष अनुसन्धानको माग गर्दै २३ दिनदेखि अनशनरत अधिकारकर्मी  रूबी खान र सरकारबीच पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै उनले मंगलबार आफ्नो अनशन अन्त्य गरेकी हुन् ।

नेपालगन्जस्थित अस्पतालमा भएको वार्तापछि गृह मन्त्रालयका प्रतिनिधि र खानबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री बालेन शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले उनलाई पानी खुवाएर अनशन तोडाउनुभएको थियो ।

सहमति अनुसार निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाको अनुसन्धान पुनः अध्ययन गरी न्यायिक प्रक्रियामा अघि बढाइने भएको छ । साथै खानले उठाएका अन्य घटनाको पनि छानबिन गरिने र अनुसन्धानमा कमजोरी देखिए सम्बन्धित प्रहरी कर्मचारीमाथि कारबाही गरिने उल्लेख छ ।

खानविरुद्ध दर्ता भएको सार्वजनिक शान्तिविरुद्धको मुद्दा चाँडै टुङ्ग्याउने, प्रहरीको भूमिकामाथि छानबिन गर्ने तथा आन्दोलनरत महिला अधिकारकर्मीहरूको सुरक्षाका लागि आवश्यक निर्देशन दिने विषयमा पनि सहमति भएको छ ।

सहमतिपत्रमा मानवअधिकार तथा महिला अधिकार क्षेत्रमा सक्रिय विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले समेत रोहवरमा हस्ताक्षर गरेका छन् ।

WhatsApp Image 2026-05-20 at 4.30.56 PM.jpeg