Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आगामी बजेटका प्राथमिकता तय, मन्त्रालयहरूबीच छलफल सम्पन्न

आगामी बजेटका प्राथमिकता तय, मन्त्रालयहरूबीच छलफल सम्पन्न

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमासम्बन्धी छलफल विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सम्पन्न भएको छ । बुधबार बसेको बैठकमा विभिन्न मन्त्रालयसँग बजेटका प्राथमिकता र कार्यक्रमबारे विस्तृत छलफल गरिएको हो ।

छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहभागी थिए ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र ले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै १५ वटा मुख्य प्राथमिकता तय गरिएको जानकारी दिए । उनका अनुसार कृषि उत्पादन सामग्रीको सहज आपूर्ति, खाद्य सुरक्षा, कच्चा पदार्थ उत्पादन वृद्धि र एकीकृत कृषि बजार विकास प्रमुख योजनामा छन् ।

उनले ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवन दिन कृषि व्यवसायीकरण र लगानी विस्तार आवश्यक रहेको भन्दै निजी, सहकारी तथा वैदेशिक लगानीलाई आकर्षित गर्न नीतिगत सुधार आवश्यक रहेको बताए ।

यसैबीच, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी वर्षका लागि करिब १० अर्ब १३ करोड रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ, जुन राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा बढी हो । मन्त्रालयले निर्यात, रोजगारी र उत्पादनमा असर पर्न सक्ने चुनौतीलाई ध्यानमा राख्दै उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम समेत अघि सारेको छ ।