Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कर्णालीमा विकास खर्च कमजोर, १० महिनामा २१.५३ प्रतिशत मात्रै प्रगति

कर्णालीमा विकास खर्च कमजोर, १० महिनामा २१.५३ प्रतिशत मात्रै प्रगति

काठमाडौँ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनासम्म अपेक्षाकृत विकास खर्च गर्न नसकेको देखिएको छ । कुल बजेटको २१.५३ प्रतिशत मात्रै विकास खर्च भएको छ भने समग्र खर्च २९.३ प्रतिशतमा सीमित रहेको तथ्याङ्कले देखाएको छ ।

चालु खर्चतर्फ भने प्रगति तुलनात्मक रूपमा बढी देखिएको छ, जहाँ ४१.३७ प्रतिशत बजेट खर्च भएको छ । गत वर्ष यही अवधिमा समग्र खर्च ३२.६५ प्रतिशत पुगेको थियो, जुन यस वर्षको तुलनामा बढी हो ।

कूल ३२ अर्ब ९९ करोडभन्दा बढीको बजेटमध्ये वैशाख मसान्तसम्म करिब ९ अर्ब ६३ करोड खर्च भएको छ । पूँजीगत बजेटमा पनि अवस्था कमजोर देखिएको छ, जहाँ विनियोजित रकमको ४ अर्ब ३० करोड मात्र खर्च भएको छ ।

मन्त्रालयगत रूपमा हेर्दा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको खर्च सबैभन्दा ठूलो बजेट भए पनि २२.३६ प्रतिशतमा सीमित छ । यस्तै सामाजिक विकास मन्त्रालयले ३५.७७ प्रतिशत, जलस्रोत तथा ऊर्जा मन्त्रालयले ३२.९० प्रतिशत र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३०.५६ प्रतिशत खर्च गरेका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको खर्च सबैभन्दा कमजोर देखिएको छ, जहाँ २०.२४ प्रतिशत मात्रै प्रगति भएको छ । अधिकारीहरूका अनुसार निर्माण सामग्रीको मूल्यवृद्धि, आपूर्ति अभाव तथा राजनीतिक–आर्थिक चुनौतीका कारण विकास आयोजनाको कार्यान्वयन प्रभावित भएको छ ।