काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले प्रेस स्वतन्त्रता संविधानले सुनिश्चित गरेको अधिकार भएकाले कुनै पनि हालतमा कुण्ठित हुन नसक्ने स्पष्ट पारे ।
मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता स्वच्छन्दता भने नभएको उल्लेख गर्दै पत्रकारितासँग जवाफदेहिता र मर्यादा पनि जोडिएको बताए । प्रेसले आफ्नो गरिमा र सीमालाई कायम राखेर काम गरे सरकारले नियन्त्रण गर्ने कुनै मनसाय नरहेको उनको भनाइ थियो ।
उनले प्रेस काउन्सिल नेपाल र चलचित्र सेन्सर बोर्डलाई थप प्रभावकारी बनाउने सरकारको योजना रहेको जानकारी दिए । साथै सांसदहरूले उठाएका सुझावलाई गम्भीरतापूर्वक लिइने पनि उनले बताए ।