काठमाडौँ । कर्णालीका स्थानीय तहमा अस्पताल निर्माण गर्ने सरकारी योजना घोषणा भएको चार वर्ष बितिसक्दा पनि मुगुका अधिकांश अस्पताल अधुरै रहेका छन् । स्थानीयले नजिकै स्वास्थ्य सेवा पाउने आशा गरे पनि निर्माण सुस्त हुँदा समस्या झन् बढेको छ ।
खत्याड गाउँपालिकामा निर्माण भइरहेको १० शैयाको अस्पताल १८ महिनाभित्र सक्ने लक्ष्यसहित १० करोडभन्दा बढी लागतमा ठेक्का सम्झौता गरिएको थियो । तर चार वर्षपछि पनि आयोजनाको भौतिक प्रगति करिब ३० प्रतिशत मात्रै पुगेको छ । दुई पटक म्याद थप भइसके पनि कामले गति लिन सकेको छैन ।
गाउँपालिकाका अनुसार ठेकेदार कम्पनीलाई दुई करोड ५८ लाख रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको छ । तर भवनको काम अझै धेरै बाँकी छ । ठेकेदार पक्षले भने बजेट अभाव र भुक्तानी ढिलाइका कारण काम प्रभावित भएको दाबी गरेको छ ।
स्थानीयवासीहरूले अस्पताल निर्माणमा ढिलाइ हुँदा अझै उपचारका लागि सुर्खेत, नेपालगञ्ज र गमगढी धाउनुपर्ने बाध्यता रहेको बताएका छन् । उनीहरूले निर्माण कम्पनी र सरोकारवाला निकायको लापरबाहीका कारण योजना अलपत्र परेको आरोप लगाएका छन् ।
मुगुको मुगमकार्मारोङ र सोरु गाउँपालिकामा निर्माण भइरहेका अस्पतालहरूको अवस्था पनि उस्तै रहेको जनाइएको छ । स्थानीयले निर्माण कार्य छिटो सम्पन्न गराउन कडा अनुगमन र दबाब आवश्यक रहेको बताएका छन् ।