काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार पूर्ण रूपमा लागिपरेको बताएका छन् ।
मंगलबार अर्थ मन्त्रालयमा भएको एपीजीको आइसिआरजि कार्ययोजना सम्बन्धी छलफलमा उनले आवश्यक सबै उपाय अपनाइने प्रतिबद्धता जनाए । उनका अनुसार सुशासन कायम गर्दै आर्थिक प्रणालीलाई पारदर्शी बनाउने दिशामा सरकारले काम गरिरहेको छ ।
अर्थमन्त्री वाग्लेले वर्तमान अवस्था विगतका वर्षौंको कुशासनको परिणाम भएको उल्लेख गर्दै नयाँ सरकार आएपछि सुशासनका क्षेत्रमा सुधार देखिन थालेको बताए । उनले ग्रे लिस्टसँग सम्बन्धित सूचक सुधारका लागि सरकारी निकायहरू निरन्तर सक्रिय रहेको पनि जानकारी दिए ।
कार्यक्रममा एपीजी उपकार्यकारी सचिव David Shannon ले भने नेपालले ग्रे लिस्टबाट बाहिरिन अझै धेरै काम गर्न बाँकी रहेको बताएका थिए ।
एफएटीएफले नेपाललाई २०८१ फागुन ९ गते दुई वर्षका लागि ग्रे लिस्टमा राखेको थियो । त्यसपछि नेपालले १५ बुँदे कार्ययोजना अनुसार सुधारका काम अघि बढाइरहेको छ ।