काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन भण्डारीले सरकारले ल्याउने आगामी बजेट न्याय, समतामूलक विकास र समानुपातिक आधारमा वितरण हुनुपर्ने बताएका छन्।
संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा पहुँचका आधारमा हुने बजेट विनियोजनको अन्त्य गर्न सरकारलाई सचेत गराए। सत्ता पक्षमै रहेर पनि जनताको पक्षमा सरकारलाई जिम्मेवार बनाउन आफूहरूले संसदमा आवाज उठाएको उनको भनाइ थियो।
भण्डारीले काभ्रे क्षेत्र नम्बर–२ का जनप्रतिनिधिका रूपमा जिल्लाका विकासका मुद्दा सरकारसमक्ष राखेको उल्लेख गर्दै बनेपा, धुलिखेल र पनौतीका नागरिकसँग जोडिएको एकीकृत खानेपानी आयोजना दशकौँदेखि अन्योलमा रहेको बताए। उक्त आयोजनालाई प्राथमिकतामा राख्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
यसैबीच, श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संसदमा भइरहेको विरोध केवल राजनीतिक उद्देश्यका लागि नभई नीति, थिति र विधि स्थापित गर्नका लागि भएको बताए। उनले सत्ता पक्ष र प्रतिपक्ष दुवै इमानदार भएमा लोकतान्त्रिक प्रणालीबाट सकारात्मक परिणाम आउने धारणा राखे।