काठमाडौँ । कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलि जेठ ६ गतेदेखि सुरु हुने भएको छ। बैठक दिउँसो ३ बजे विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्र सभा गृहमा बस्ने तयारी प्रदेश सभा सचिवालयले गरेको छ।
प्रदेश सभाको स्थायी भवन जेनजी आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त बनेकाले बैठकहरू हाल अस्थायी रूपमा कटहरीबाट सञ्चालन हुँदै आएका छन्। पर्याप्त पूर्वाधार नहुँदा यसपटक पनि अधिवेशन वीरेन्द्र सभा गृहमै सञ्चालन गर्न लागिएको हो। यसअघि पनि केही बैठकहरू सोही स्थानमा सम्पन्न भएका थिए।
यसैबीच, प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ। सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार यस वर्षका नीति तथा कार्यक्रममा केही नयाँ र जनमुखी योजनालाई प्राथमिकता दिइनेछ।
प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।