काठमाडौँ । बाजुरामा बेपत्ता भएकी एक महिला कर्णाली नदी किनारमा मृत अवस्थामा फेला परेकी छन्। जगन्नाथ गाउँपालिका–५ गोत्रीकी करिब ३५ वर्षीया लाल चना बुढा (शाही) १० दिनदेखि हराइरहेकी थिइन्।
वैशाख २६ गते श्रीमानसँगको विवादपछि “माइतीघर जान्छु” भन्दै घरबाट निस्किएकी उनी त्यसपछि सम्पर्कविहीन भएकी थिइन्। आफन्तहरूले खोजतलास गर्दा नभेटिएपछि उनका दाइले प्रहरीमा हुलिया सहित उजुरी दिएका थिए।
खोजी अभियानका क्रममा उनको शव मंगलबार बिहान कालिकोटको त्रिवेणी गाउँपालिका–२ आमतडास्थित कर्णाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।