काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले गैरआवासीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय हालका लागि स्थगित गरेको छ । काउन्सिलले यसअघि दुई चरणमा उनीहरूको नाम दर्ता किताबबाट हटाउने निर्णय गरेको थियो ।
चर्को विरोधपछि वैशाख २९ गते बसेको काउन्सिलको पूर्ण बैठकले ती चिकित्सकहरूको नाम यथावत् राख्ने निर्णय गरेको हो । यसअघि गैरआवासीय नेपाली संघले विज्ञप्ति जारी गर्दै निर्णय फिर्ता लिन माग गरेको थियो । स्रोतका अनुसार कानुनी उपचारमा जाने तयारीपछि काउन्सिल दबाबमा परेको हो ।
संघका महासचिव चिरञ्जीवी खड्काले काउन्सिलको नयाँ निर्णयलाई स्वागतयोग्य बताएका छन् । उनले गैरआवासीय नेपालीले पनि नेपाली नागरिकसरह अधिकार पाउनुपर्ने धारणा राखेका छन् ।
यसअघि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका चिकित्सकहरूको दर्ता खारेज गर्ने निर्णय गरेको थियो । काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेका अनुसार अब विश्वभर रहेका गैरआवासीय नेपाली चिकित्सकलाई पुनः दर्ताका लागि आह्वान गरिनेछ ।