काठमाडौँ । भारतको बिहार राज्यमा विभिन्न प्रलोभनमा परेर जोखिमपूर्ण अवस्थामा पुगेका ६ जना नेपाली बालबालिकाको उद्धार गरिएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था ‘किन इन्डिया’को पहलमा उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको हो।
उद्धारपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालबालिकालाई नेपाल फर्काउने तयारी भइरहेको ‘किन इन्डिया’ले जनाएको छ। उद्धार गरिएकामध्ये चार जना कोशी प्रदेशका रहेका छन् भने उनीहरूलाई परामर्श र संरक्षणपछि मोरङ पठाइने तयारी गरिएको छ।
बालबालिका फरक–फरक घटनामार्फत भारत पुगेकाले घटनाको विस्तृत विवरण अनुसन्धान र परामर्शपछि सार्वजनिक गरिने बताइएको छ।