काठमाडौँ । रास्वपा सांसद इन्दिरा राना मगरले औद्योगिक क्षेत्र र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पाटन औद्योगिक क्षेत्र घरेलु तथा मूर्तिकला उद्योगका लागि छुट्याइएको भए पनि अहिले त्यहाँ ठूला उद्योग सञ्चालन भइरहेको बताइन्। ती उद्योगबाट उत्पन्न प्रदूषणका कारण स्थानीय बासिन्दा बिरामी पर्ने र मृत्यु हुने अवस्थासमेत देखिएको उनको दाबी थियो।
सांसद रानाले झापा क्षेत्र नम्बर–२ मा पनि वायु प्रदूषणका कारण धेरै मानिस क्यान्सरबाट प्रभावित भएको उल्लेख गरिन्। उनका अनुसार एसियन हाइवे निर्माणका क्रममा बस्ती नजिक अलकत्रा प्रयोग गरिएकाले स्थानीयवासीको स्वास्थ्यमा असर परेको छ।
उनले यस विषयमा पटक–पटक सम्बन्धित निकायमा जानकारी गराउँदा पनि सुनुवाइ नभएको भन्दै प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिन्।