काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलनका क्रममा भएको हिंसा र विध्वंसबारे तयार छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभामा बोल्दै उनले भदौ २३ र २४ गते भएका घटनाको अनुसन्धान गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक नगरिएको बताए। उनले उक्त प्रतिवेदन सबै सांसदलाई उपलब्ध गराउन पनि माग गरे।
केसीले भदौ २३ देखि २६ गतेसम्म भएका हिंसात्मक घटनाको अध्ययनका लागि लिली थापा को संयोजकत्वमा तयार गरिएको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनसमेत रोकिएको भन्दै आपत्ति जनाए। उनले प्रतिवेदन किन रोकिएको हो र कसको स्वार्थमा रोकिएको हो भन्नेबारे संसदलाई जानकारी गराउनुपर्ने बताए।
सांसद केसीले भदौ २४ गते करिब १२ घण्टासम्म नागरिक असुरक्षित र राज्यविहीन अवस्थाजस्तो परिस्थिति बनेको उल्लेख गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिने सुनिश्चितता सरकारले दिनुपर्ने धारणा राखे।