काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरूले सरकारले विगत २५ वर्षदेखिको माग सम्बोधन गर्दै छुट्टै मन्त्रालय गठन गरेकोप्रति धन्यवाद व्यक्त गरेका छन्।
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा ब्लू डाइमन्ड सोसाइटी ले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उनीहरूले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय’ गठनलाई ऐतिहासिक उपलब्धि भन्दै स्वागत गरेका हुन्।
कार्यक्रममा सांसद भूमिका श्रेष्ठले लामो समयदेखिको निरन्तर संघर्ष र लबिङपछि केही प्रगति हासिल भएको बताउँदै अब मन्त्रालयमार्फत समुदायका मुद्दा प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरिन्।
त्यस्तै, ब्लू डाइमन्ड सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकालले समानता, समावेशी शासन र नीति निर्माणका लागि यो मन्त्रालय महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन्। उनले समुदायका मुद्दा सम्बोधन गर्न थप कानुन र नीतिहरू आवश्यक रहेको पनि बताइन्।
अभियन्ता टीकाराम भूसालले यौनिक अभिमुखीकरण र लैङ्गिक पहिचान फरक विषय भएकाले नीति निर्माणमा गहिरो बुझाइ आवश्यक रहेको उल्लेख गर्दै नागरिकता, वैवाहिक समानता र जनगणनाजस्ता विषयमा अझ धेरै काम बाँकी रहेको बताए।