काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरास्थित फिस्टेल डेरी प्रा.लि.ले उत्पादन गरेको ‘नोभा’ ब्रान्डको आइसक्रिम मानव स्वास्थ्यका लागि अयोग्य ठहर गर्दै तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
बजार अनुगमनका क्रममा संकलित नमुना परीक्षण गर्दा आइसक्रिममा स्वास्थ्यका लागि हानिकारक मानिने ब्याक्टेरियाको उच्च मात्रा फेला परेको विभागले जनाएको छ। परीक्षणमा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट र एन्टेरोब्याक्टेरियासी काउन्ट देखिएपछि उक्त उत्पादन उपभोगका लागि अनुपयुक्त घोषित गरिएको हो।
विभागले १००० मि.लि. परिमाणको, उत्पादन मिति २०८२/०४/१९ र १२ महिना उपभोग अवधि उल्लेख भएको नोभा आइसक्रिम तत्काल बजारबाट हटाउन आदेश जारी गरेको छ।
साथै, सम्बन्धित उत्पादक र विक्रेतालाई उक्त ब्याचको आइसक्रिम बिक्री वितरण नगर्न कडा निर्देशन दिइएको छ। आदेश उल्लंघन गरे कानुनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ।