काठमाडौँ । सिरहाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ। शनिबार राति नवराजपुर गाउँपालिका–५ देवनगर क्षेत्रमा गरिएको विशेष चेकजाँचका क्रममा करिब ४० लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको हो।
सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापाको नेतृत्वमा खटिएको ३५ सदस्यीय टोलीले भारततर्फ लैजान लागिएको स।१ ख।५३५ नम्बरको ट्रक रोकेको जनाएको छ।
ट्रकबाट कस्मेटिक सामग्री, मन्जन (टुथपेष्ट), ओखरलगायतका विभिन्न सामान फेला परेका छन्। घटनामा संलग्न भएको आरोपमा स्थानीय राजेशकुमार यादव र आनन्द यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बरामद सामान र ट्रक आवश्यक कारबाहीका लागि भन्सार कार्यालय माडरतर्फ पठाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।