काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मल अभाव, किसानको उत्पादन बिक्री समस्या र कृषि नीतिका कमजोरीबारे गम्भीर छलफल भएको छ।
बैठकमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरी ले सरकारले यसपटक नीति तथा कार्यक्रम निर्माणका क्रममा पर्याप्त छलफल गर्न नसकेको स्वीकार गर्दै अहिले मुख्य प्राथमिकता मल व्यवस्थापनमा केन्द्रित रहेको बताइन्।
उनले विश्वव्यापी संकट र ऊर्जा समस्याका कारण कृषि क्षेत्रमा अपेक्षाअनुसार काम गर्न चुनौती रहेको उल्लेख गर्दै रासायनिक मलको विकल्प खोज्नुपर्ने आवश्यकता औंल्याइन्। मन्त्री चौधरीका अनुसार मलमा खर्च भइरहेको अर्बौं रुपैयाँ किसानको उत्पादन बिक्री, बजार व्यवस्थापन र उचित मूल्य सुनिश्चिततामा प्रयोग गर्न सकिने अवस्था सिर्जना गर्नुपर्नेछ।
बैठकमा सांसद आशिका तामाङ ले किसानले उत्पादन बिक्री गर्न नसक्दा भोग्नुपरेको पीडा स्मरण गर्दै कृषि क्षेत्रमा बीमा र क्षतिपूर्तिको प्रभावकारी व्यवस्था आवश्यक रहेको बताइन्। उनले सामाजिक सञ्जालमा जिउँदै चल्ला गाडिएका दृश्यले कृषि क्षेत्रको संकट झल्काएको टिप्पणी गरिन्।
त्यस्तै समिति सभापति अशोक कुमार चौधरी ले असारअघि नै किसानसम्म मल पुर्याउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।