काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर निकाय) को प्रशासनिक मातहत फेरि परिवर्तन गरिएको छ। पछिल्ला निर्णयअनुसार विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको छ।
यसअघि यो निकाय कहिले प्रधानमन्त्री कार्यालय त कहिले गृह मन्त्रालय मातहत राखिँदै आएको थियो। हालैको निर्णयले पुरानो संरचना उल्टाउँदै विभागलाई पुनः प्रधानमन्त्री मातहत सारिएको हो।
सरकारी निर्णयअनुसार आन्तरिक सुरक्षासम्बन्धी सूचना संकलन गर्ने उक्त निकायलाई स्थायित्व दिने उद्देश्यसहित यो व्यवस्था गरिएको दाबी गरिएको छ। करिब दुई हजार कर्मचारी रहेको यो विभाग देशको प्रमुख गुप्तचरी निकाय मानिन्छ।
यस विषयमा विभिन्न सरकारका पालामा निरन्तर विवाद हुँदै आएको छ। गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयबीच विभागको नियन्त्रणलाई लिएर पटक–पटक संरचनागत हेरफेर हुने गरेको छ, जसलाई सुरक्षा विश्लेषकहरूले राजनीतिक प्रभाव र शक्ति सन्तुलनसँग जोडेर हेर्ने गरेका छन्।