काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस प्रक्रिया अघि बढाइएको छ। विश्वविद्यालय सभाको बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको सिनेट बैठकले प्राडा जयराज अवस्थीको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा प्राडा लोचना श्रेष्ठ र प्राडा दिनेश लम्साल सदस्य रहेका छन्।
समितिले विश्वविद्यालयको ऐनअनुसार उपकुलपति र रजिस्ट्रारका लागि उपयुक्त उम्मेदवारहरूको सिफारिस गर्नेछ। बैठकले विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै छ जना नयाँ सिनेट सदस्य पनि मनोनयन गरेको छ, जसमा विज्ञान, शिक्षा, कानुन, व्यवस्थापन तथा सामाजिक विज्ञान क्षेत्रका विज्ञहरू समावेश छन्।
यसैबीच, विश्वविद्यालयले यसअघि योगदान दिएका सिनेट सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी संरचना सुदृढीकरणतर्फ अघि बढ्ने जनाएको छ।