काठमाडौँ । रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम नयाँ दृष्टिकोणभन्दा पनि पुरानै योजनाको पुनरावृत्ति जस्तो देखिएको बताएकी छन्। राष्ट्रियसभा बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) की नेतृ झाँक्रीले केही बुँदा हटाएर पुरानै कार्यक्रमलाई दोहोर्याइएको मात्र देखिएको टिप्पणी गरिन्।
उनका अनुसार निर्वाचनपछि नयाँ राजनीतिक ऊर्जा र परिवर्तनको अपेक्षा भए पनि प्रस्तुत नीति तथा कार्यक्रमले त्यस्तो स्पष्ट दिशा नदिएको छ। उनले सुशासन र आर्थिक विकासका कुरा उठाइए पनि व्यवहारमा निजी क्षेत्रप्रति असहज वातावरण सिर्जना भइरहेको आरोप लगाइन्।
झाँक्रीले सुशासनको नाममा डर र दबाब सिर्जना गर्ने शैलीभन्दा पहिले सुनेर मात्र कारबाही गर्ने अभ्यास आवश्यक रहेको बताउँदै राज्यले लगानी र आर्थिक गतिविधिका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिएकी छन्।