काठमाडौँ । युवराज दुलालले सरकारको नीति तथा कार्यक्रममा समतामूलक समाज निर्माण र समाजवाद उन्मुख अर्थतन्त्रको स्पष्ट दिशा नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी का सांसद दुलालले राजनीतिक तथा वैचारिक गन्तव्य अस्पष्ट हुँदा नीति कार्यक्रम अन्योलमा पर्ने बताएका हुन्।
उनले सरकारले संविधानको परिधिभित्र रहेर आफ्नो राजनीतिक–आर्थिक दृष्टिकोण स्पष्ट गर्नुपर्ने धारणा राखे। साथै नीति कार्यक्रममा उल्लेख गरिएको १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य यथार्थपरक आधारबिना प्रस्तुत गरिएको भन्दै प्रश्नसमेत उठाए।
सांसद दुलालले विगतका केही सकारात्मक कार्यक्रमलाई निरन्तरता दिइएकोमा सरकारलाई धन्यवाद दिए पनि लोकतन्त्र सुदृढ गर्ने विषय, विद्यार्थी संगठनको भूमिका तथा कृषि क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।