काठमाडौँ । अर्जुन कुमार कार्कीले नेपालको परराष्ट्र नीतिमा आर्थिक कूटनीतिलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद कार्कीले राष्ट्रिय विकासका एजेन्डासँग अन्तर्राष्ट्रिय सहयोग र लगानीलाई जोड्न राज्य गम्भीर हुनुपर्ने धारणा राखेका हुन्।
उनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र स्वाभिमानसँग सम्बन्धित विकास योजनामा मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग परिचालन गर्नुपर्ने बताए। नेपाल अझै पनि अति कम विकसित राष्ट्रको सूचीमा रहेको उल्लेख गर्दै उनले विकासशील राष्ट्रको स्तरमा पुग्न आर्थिक कूटनीतिले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
सांसद कार्कीका अनुसार वैदेशिक सहायता, लगानी र विकास साझेदारीलाई प्रभावकारी रूपमा भित्र्याउन परराष्ट्र सम्बन्धलाई आर्थिक हितसँग जोडेर अघि बढाउन आवश्यक छ। उनले आर्थिक कूटनीति सफल भए गरिबी निवारण, पूर्वाधार विकास र मुलुकको आर्थिक–सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव पर्ने बताएका छन्।