Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विज्ञान प्रविधि मन्त्रालय बनाएसँगै महावीरले दिए सरकारलाई धन्यवाद, लिए यसअघि दिएको श्राप फिर्ता

विज्ञान प्रविधि मन्त्रालय बनाएसँगै महावीरले दिए सरकारलाई धन्यवाद, लिए यसअघि दिएको श्राप फिर्ता

 काठमाडौं । सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेपछि सांसद तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले खुसी व्यक्त गरेका छन् ।

म्याग्दीबाट प्रतिनिधिसभा सदस्य रहेका पुनले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय अलग्गै बनाउन आग्रह गर्दै आएका थिए । प्रतिनिधिसभाका पछिल्ला बैठकमा समेत उनले यो माग उठाइरहेका थिए ।

आफूले लामो समयदेखिको उठाउँदै आएको माग सरकारले पूरा गरेको भन्दै पूर्वशिक्षामन्त्री समेत रहेका उनले सरकारलाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद पुनले सरकारको निर्णयको स्वागत गरेका हुन्। ‘नेपाल सरकारलाई धेरै–धेरै धन्यवाद तथा दीर्घायुको कामना गर्दछु,’ सांसद पुनले लेखेका छन्।’ उनले नेताहरूलाई यसअघि दिएको गाली फिर्ता लिएको पनि भनेका छन् ।

सांसद पुनले गत ८ वैशाखमा प्रधानमन्त्रीलाई पत्र लेख्दै विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न माग राखेका थिए।

प्रधानमन्त्रीलाई बुझाइएको उक्त ध्यानाकर्षण पत्रमा उनले पृथ्वीनारायण शाहको पालादेखि अहिलेसम्मका कुनै पनि शासक, सरकार र नेताहरूले विज्ञान प्रविधि तथा अनुसन्धानलाई प्राथमिकता नदिँदा देश आर्थिक रूपमा अत्यन्त गरिब भएको उल्लेख गरेका थिए ।

विज्ञान र अनुसन्धानको अभावमा आम जनताले उपभोग गर्ने सानोभन्दा सानो वस्तु पनि नेपालमा उत्पादन हुन नसकेको र सबैजसो उपभोग्य वस्तु विदेशबाट आयात गर्नुपर्दा व्यापार घाटा चरम बिन्दुमा पुगेको पुनको दाबी छ ।

साथै, प्रतिभाशाली, सृजनशील र नवीन सोच भएका अधिकांश युवाहरू देशले गुमाइरहेको, जसका कारण स्वदेशमा उद्यमीहरू जन्मन नसकेको र रोजगारीको सिर्जना पटक्कै हुन नसकेको पनि उनले पत्रमा उल्लेख गरेका थिए ।

आफूले विगत ३३ वर्षदेखि नेपालमा बसेर समाजसेवा गर्दाको अनुभवका आधारमा एउटा शक्तिशाली मन्त्रालयको अति नै ठूलो आवश्यकता देखेर यो माग गरेको पुनले पत्रमा स्पष्ट पारेका थिए।

छुट्टै मन्त्रालय गठनको माग पूरा भएसँगै पुनले अब उक्त मन्त्रालयलाई कसरी परिणाममुखी बनाउने भन्नेबारे वैज्ञानिक र अनुसन्धानकर्तालाई छलफलमा आउन आह्वान गरेका छन् ।

Capture.JPG