Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाल विद्युत् प्राधिकरणमा नयाँ नियुक्ति:दीर्घायू श्रेष्ठलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी

नेपाल विद्युत् प्राधिकरणमा नयाँ नियुक्ति:दीर्घायू श्रेष्ठलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त गरेका छन्। बुधबारको मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई आगामी चार वर्षका लागि जिम्मेवारी दिइएको हो।

निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं–१५ निवासी अंशुकिरण शाही सञ्चालक समितिमा नियुक्त भएका छन् भने उपभोक्तातर्फबाट नागार्जुन नगरपालिका–५ निवासी कृष्ण बसेल सदस्य बनेका छन्। प्राधिकरणमा उपभोक्ता प्रतिनिधिका रूपमा दलित समुदायको सहभागिता सम्भवतः पहिलोपटक भएको बताइएको छ।

यस्तै, प्राधिकरणको सञ्चालक समितिले दीर्घायू कुमार श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ। मन्त्री श्रेष्ठको अध्यक्षतामा बसेको १०३०औँ बैठकले उक्त निर्णय गरेको हो।

दीर्घायू कुमार श्रेष्ठ विगत २९ वर्षदेखि प्राधिकरणमा प्राविधिक तथा व्यवस्थापकीय भूमिकामा सक्रिय छन्। उनले २०५४ सालमा सातौँ तहको अधिकृतका रूपमा सेवा सुरु गरेका थिए।

काठमाडौं–१२ निवासी श्रेष्ठले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा इन्फर्मेशन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। ऊर्जा व्यवस्थापन, प्रसारण प्रणाली विस्तार तथा विद्युत् सेवा सुधारका कामलाई निरन्तरता दिने अपेक्षासहित उनलाई जिम्मेवारी दिइएको प्राधिकरणले जनाएको छ।

नवनियुक्त सञ्चालक सदस्यहरू तथा कामु कार्यकारी निर्देशकलाई बुधबार मन्त्री विराज भक्त श्रेष्ठले पद तथा गोपनीयताको सपथसमेत गराएका छन्।