Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कटहरियामा तीन बालक एकैसाथ बेपत्ता, प्रहरीद्वारा सीमापार खोजी सुरु

कटहरियामा तीन बालक एकैसाथ बेपत्ता, प्रहरीद्वारा सीमापार खोजी सुरु

काठमाडौँ । रौतहटको कटहरिया नगरपालिका–५ को बजार क्षेत्रबाट एकै कक्षामा अध्ययनरत तीन जना बालक एकैसाथ बेपत्ता भएपछि स्थानीयमा चिन्ता र त्रास फैलिएको छ।

बेपत्ता हुनेमा १४ वर्षीय सकील अन्सारी, १४ वर्षीय कुन्दन साह सोनार र १२ वर्षीय पवन कुमार दास सरभंग रहेका छन्। उनीहरू त्रिशक्ति इङ्ग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी हुन्।

परिवारका अनुसार विद्यालयबाट फर्किएपछि ‘बाहिर खेल्न जान्छौं’ भन्दै घरबाट निस्किएका बालकहरू त्यसपछि सम्पर्कमा आएका छैनन्। साँझसम्म घर नफर्किएपछि खोजी गर्दा फेला नपरेपछि प्रहरीमा निवेदन दिइएको हो।

प्रहरीका अनुसार तीनै जनाको विवरण र तस्बिर सम्बन्धित सुरक्षा निकायमा पठाइसकिएको छ। सीमावर्ती क्षेत्र भएकाले भारततर्फ समेत खोजी समन्वय अघि बढाइएको छ।

इलाका प्रहरी कार्यालय कटहरियाका सई मोहन आले मगरका अनुसार घटनालाई गम्भीर रूपमा लिएर विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ। बालकहरू घरबाट भागेका हुन्, अपहरणमा परेका हुन् वा अन्य कारण हो भन्नेबारे निष्कर्षमा पुगिएको छैन।

प्रहरीले उनीहरूबारे कुनै सूचना भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा जानकारी दिन आग्रह गरेको छ।