काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार, सूचना प्रविधि र सञ्चार क्षेत्रमा सुधारका कामहरू अघि बढिरहेको बताएका छन्।
उनका अनुसार तत्काल गर्न सकिने सुधार कार्यहरू सुरु भइसकेका छन् भने दीर्घकालीन योजनाका लागि विस्तृत अध्ययन भइरहेको छ। छोटो समयमा सबै क्षेत्रलाई एकैपटक व्यवस्थित गर्न चुनौती भए पनि सरकारले प्राथमिकताका आधारमा काम गरिरहेको उनले स्पष्ट पारे।
मन्त्री तिमिल्सिनाले हालको अवस्थामा 4G सेवा पूर्ण रूपमा बन्द गरेर सीधै 5G मा जाने अवस्था नरहेको बताए। पहिले 4G लाई प्रभावकारी बनाउने र त्यसपछि चरणबद्ध रूपमा 5G लागू गर्ने सरकारको योजना रहेको उनको भनाइ छ। 5G सेवा विस्तारका लागि फ्रिक्वेन्सी सम्बन्धी प्रक्रिया अघि बढाइएको पनि उनले जानकारी दिए।
दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढाउन तेस्रो मोबाइल अपरेटर ल्याउने विषयमा अध्ययन भइरहेको छ। साथै नेपाल टेलिकमलाई थप सुदृढ बनाउने र डिजिटल पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको उनले बताए।
नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँग नियमित छलफल भइरहेको उल्लेख गर्दै उनले बिलिङ प्रणाली र सेवा व्यवस्थापनका समस्यालाई कानुनी ढाँचाभित्र रहेर समाधान गरिने बताए।
साथै डेटा सेन्टर तथा डिजिटल पूर्वाधारमा विदेशी लगानी आकर्षित गर्ने सम्भावनाबारे पनि अध्ययन भइरहेको जानकारी दिइएको छ। उनले राज्यको सम्पत्ति दुरुपयोग रोक्न र प्रणालीगत भ्रष्टाचार नियन्त्रणमा सरकार प्रतिबद्ध रहेको पनि दोहोर्याए।
मन्त्री तिमिल्सिनाले स्वतन्त्र पत्रकारितालाई लोकतन्त्रको आधार भन्दै विज्ञापन वितरण प्रणालीलाई पारदर्शी बनाउने तथा श्रमजीवी पत्रकारको हितमा नीतिगत सुधार गर्ने तयारी भइरहेको समेत बताए।