Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी अभियानको आग्रह

छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी अभियानको आग्रह

काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले मानव अधिकार हननका घटनाबारे छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेको छ । अभियानका प्रतिनिधिहरूले आयोग सरकारको दबाबमा परेको वा प्रतिवेदन पुनर्लेखन भइरहेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । आज अभियानका प्रतिनिधिहरूले आयोगका अध्यक्ष तथा पदाधिकारीहरूलाई भेट्दै आयुक्त लिली थापाको नेतृत्वमा बनेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग गरेका हुन् । 

मानवअधिकार आयोगका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रिय जेनजी नागरिक अभियानका तर्फबाट सुनिल सिंह, अजय सोडारी, प्रकाश बम, वीरजंग विक, सुशील बुढाथोकी र जनम सिंह सहभागी थिए । अभियानले पाँच दिनभित्र प्रतिवेदन सार्वजनिक नभए सशक्त प्रतिवाद र आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

छलफलका क्रममा अध्यक्ष केही असहज र आक्रोशित देखिएको अभियानका प्रतिनिधिको दाबी छ । यद्यपि, आयोगले प्रतिवेदनको अध्ययन सकिएको र आगामी पाँच दिनभित्र आयोगको धारणा तथा सिफारिस सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ । छलफलका क्रममा जेनजी अभियानका प्रतिनिधिहरूले आयोगकै कार्यालय अगाडिबाट आफ्ना साथीहरू पक्राउ परी आठ घण्टा हिरासतमा बस्दा समेत आयोग मुकदर्शक बनेको भन्दै प्रश्न उठाएका थिए । 

राष्ट्रिय जेनजी नागरिक अभियानले  राष्ट्रिय मानव अधिकार आयोगसँगको वार्तामा  “National Human Rights Commission Nepal” का अध्यक्ष तथा अन्य पदाधिकारीसँग भदौ २३/२४ गते भएको जेन्जि आन्दोलनमा भएका मानव अधिकार हनन घटनासम्बन्धी आयुक्त लिलि थापाको नेतृत्वमा तयार गरिएको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न अनुरोध गरेको छ  ।नागरिकको मानव अधिकार हनन हुँदा पनि आयोग मौन बस्नु भनेको आयोग नै चिरनिद्रामा रहेर तलब–भत्ता मात्र पचाएको जस्तो देखिएको उनीहरुको आरोप छ ।