काठमाडौँ । रौतहटको गौर नगरपालिकाले सार्वजनिक जग्गा र सडक अतिक्रमण गरी बनाइएका अवैध संरचनाहरू हटाउन व्यापक अभियान सुरु गरेको छ। नगर क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यसहित घर, टहरा तथा अन्य अवरोधक संरचनामा डोजर चलाइएको हो।
नगरले एक महिनाअघि नै सूचना जारी गर्दै सडक, नाला र ऐलानी जग्गा मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेको थियो। तर पटक–पटकको अनुरोध बेवास्ता भएपछि बाध्य भएर कारबाही अघि बढाइएको नगर प्रहरीले जनाएको छ।
नगर प्रहरी प्रमुख आर.पी. साह का अनुसार सार्वजनिक आवागमनमा अवरोध हुने गरी बनेका संरचना हटाउन कानुनी प्रक्रिया अपनाइएको हो। उनका अनुसार स्थानीयलाई पर्याप्त समय दिइए पनि अटेर भएपछि डोजर प्रयोग गरिएको हो।
यस अभियानमा बजार क्षेत्रदेखि विभिन्न वडासम्म फैलिएका अवैध संरचना भत्काइएका छन्। ऐतिहासिक तथा धार्मिक महत्त्वको रामजानकी मठ आसपासको अतिक्रमित जग्गामा बनेका टहराहरू समेत हटाइएको छ।
नगरपालिकाले भने विपन्न तथा भूमिहीन परिवारलाई पहिचान गरी उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ। तर सार्वजनिक जग्गा कब्जा गर्ने र व्यापारिक प्रयोजनका लागि संरचना बनाउने कार्यलाई कडाइका साथ नियन्त्रण गरिने स्पष्ट पारेको छ।
नगर प्रशासनले गौरलाई स्वच्छ र व्यवस्थित सहर बनाउन यो अभियान निरन्तर जारी रहने बताएको छ।