Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मुगुमा जेठ १३ देखि यार्सागुम्बा संकलन खुला, प्रवेश शुल्क तोकियो

मुगुमा जेठ १३ देखि यार्सागुम्बा संकलन खुला, प्रवेश शुल्क तोकियो

काठमाडौँ । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाले जेठ १३ गतेदेखि एक महिनाका लागि यार्सागुम्बा संकलन खुला गर्ने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको बैठकले पाटन क्षेत्रमा प्रवेश गर्ने संकलकका लागि शुल्कसमेत निर्धारण गरेको हो।

गाउँपालिकाअनुसार जिल्ला बाहिरबाट आउने व्यक्तिले २ हजार ५ सय रुपैयाँ र जिल्लाभित्रकाले २ हजार रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ। शुल्क नतिरी लुकीछिपी यार्सा संकलन गर्नेलाई कारबाही गरिने अध्यक्ष छिरिङक्याप्ने लामाले बताएका छन्।

संकलन अवधिमा वातावरण संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्दै गाउँपालिकाले प्लास्टिक तथा सिसाजन्य वस्तु नफाल्न, रुखबिरुवा नकाट्न र चोरी नगर्न चेतावनी दिएको छ। सुरक्षा व्यवस्थाका लागि पाटन क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसमेत परिचालन गरिने जनाएको छ।

सानो कोइकी, ठूलो कोइकी, रिमार, टाके, हाङदाङखोला र छापाखोलालगायत दुई दर्जनभन्दा बढी पाटन क्षेत्रमा यार्सागुम्बा पाइन्छ। यार्सा संकलनका लागि कर्णालीसहित देशका विभिन्न जिल्लाबाट संकलक र व्यापारीहरू मुगु पुग्ने गरेका छन्।