काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भूमिका श्रेष्ठले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अझै पनि विभेद, बहिष्कार र तिरस्कार सहेर बाँच्न बाध्य रहेको बताएकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा पहिलो सम्बोधन गर्दै उनले संविधानले अधिकार सुनिश्चित गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको गुनासो गरिन्। उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अधिकार अझै कागजमै सीमित रहेको उल्लेख गरिन्।
‘म त्यस्तो समुदायबाट आएको छु, जहाँ जन्मिँदा बहिष्कार र मृत्यु हुँदा समेत तिरस्कार सहनुपर्छ,’ उनले भनिन्, ‘संविधान आएको एक दशक बितिसक्दा पनि आवश्यक ऐन र कानुन बन्न सकेका छैनन्, यो दुःखद अवस्था हो।’
सांसद भूमिका श्रेष्ठले सरकार र संसद्प्रति आफूहरू अझै आशावादी रहेको बताउँदै आगामी नीति तथा कार्यक्रममा समुदायको सशक्तीकरणलाई प्राथमिकतामा राखिएको विषयलाई सकारात्मक रूपमा लिएको बताइन्।
भूमिका श्रेष्ठ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने ट्रान्सजेन्डर सांसद हुन्।
