काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ। नियमित चेकजाँचका क्रममा एम्बुलेन्सबाट ४४० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
मंगलबार राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले को १ च ७३५९ नम्बरको एम्बुलेन्स रोकी जाँच गर्दा प्लास्टिकको बोरामा प्याक गरिएको गाँजा फेला परेको हो।
प्रहरीका अनुसार गाँजा बरामद भएपछि एम्बुलेन्स चालकसहित घटनामा संलग्न अन्य व्यक्ति फरार भएका छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको बताइएको छ।
प्रारम्भिक अनुसन्धानमा उक्त एम्बुलेन्स धरानस्थित बुढासुब्बा डाइग्नोष्टिक सेन्टर प्रालिद्वारा सञ्चालन हुँदै आएको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
प्रहरीले लागूऔषध सम्बन्धी अपराध कानुनअनुसार दण्डनीय भएकाले यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ।