Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मधेशमा बढ्दो एचआईभी संक्रमण, देशमै दोस्रो उच्च जोखिम

मधेशमा बढ्दो एचआईभी संक्रमण, देशमै दोस्रो उच्च जोखिम

काठमाडौँ । नेपालमा एचआईभी संक्रमितको संख्या सबैभन्दा बढी लुम्बिनी प्रदेशमा रहेको छ भने मधेश प्रदेश दोस्रो स्थानमा पुगेको तथ्यांक सार्वजनिक भएको छ।

स्वास्थ्य निर्देशनालय सपहीले जनकपुरधाममा आयोजना गरेको पत्रकार अन्तरक्रियामा प्रस्तुत तथ्यांकअनुसार देशभर ३५ हजारभन्दा बढी एचआईभी संक्रमितमध्ये मधेश प्रदेशमा मात्रै ४ हजार ६ सय ८० संक्रमित रहेका छन्। संक्रमितमध्ये महिला, बालबालिका तथा १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्ति बढी रहेको जनाइएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत राजवीर यादवका अनुसार पर्सा र धनुषा सबैभन्दा बढी जोखिममा रहेका जिल्ला हुन्। पर्सामा १ हजार ५ सय ४ र धनुषामा ८ सय ८६ संक्रमित भेटिएका छन्।

यस्तै स्वास्थ्य निर्देशनालयका सचिव डा. प्रमोद यादवले जनचेतनाको अभाव, अशिक्षा, वैदेशिक रोजगारी र समयमै उपचार नहुनु संक्रमण बढ्नुका मुख्य कारण रहेको बताए। उनले जनकपुरधाममै करिब ८ सय संक्रमित रहेको उल्लेख गर्दै नियन्त्रणका लागि सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए।